काठमाडौं । आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धन मूल्य अत्यधिक बढ्दा सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई पत्र लेख्दै वायुसेवा सञ्चालक संघले वायुसेवा कम्पनीहरूलाई राहत र सहुलियत दिन माग गरेको छ ।
संघले लेखेको पत्रमा विश्वभरि फैलिएको कोरोना भाइरस, २३ र २४ भदौको जेनजी आन्दोलन र अहिले मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका कारण हवाई इन्धन मूल्य अत्यधिक बढेको उल्लेख छ ।
इन्धन मूल्य बढेसँगै सदस्य वायुसेवा कम्पनीको उडान खर्च पनि अत्यधिक वृद्धि भएको र नेपाल आउने पर्यटक संख्यामा समेत उल्लेखनीय कमी आएको पत्रमा उल्लेख छ ।
यसका कारण वायुसेवा कम्पनीहरूले प्रतिदिन ठूलो आर्थिक संकटमा परिरहेको र आफ्नो सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
वायुसेवा कम्पनीको सञ्चालन खर्चमा अहिलकोे हिस्सा ५५–६० प्रतिशत पुगेको र कम्पनीको व्यापारमा उल्लेख्य कमी आएको समेत वायुसेवा कम्पनीहरूले जनाएका छन् ।
कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विभिन्न शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसन, हाउजिङ, भाडा लगायत शुल्कमा हालको विषम परिस्थितिका लागि ५० प्रतिशत बराबर छुट दिन माग गरिएको छ ।
विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी दर घटाउन समेत वायुसेवा कम्पनीले माग गरेका छन् । वायुसेवा कम्पनीहरूलाई विशेष उद्योगसरह मानी आयकर ऐन अनुसार पाउनुपर्ने २० प्रतिशत बराबर छुटको व्यवस्था गर्नसमेत वायुसेवा कम्पनीले माग गरेका छन् ।
अहिले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीबाट अमेरिकी डलरमा शुल्क उठाइरहेको भन्दै त्यसलाई नेपाली रुपैयाँमा तोक्न समेत माग गरिएको छ ।