काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वैचारिक र सैद्धान्तिकको आधारमा पार्टी एकता भएकाले एकता दिगो हुने जिकिर गरेका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले पार्टी एकता बलियो हुने जिकिर गरेका हुन् ।
नेपालले देशैभरि नेकपाप्रति आकर्षण बढेकाले त्यसैअनुसार काम गर्न सबैलाई आग्रह गरे । ‘विचार, सिद्धान्त, नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा हाम्रो एकता भएको छ । त्यसकै आधारमा नेपाली कम्युनिस्ट पार्टीको एकता बलियो भएको छ’, उनले भने– ‘अब कुरा धेरै होइन काम गर्नुपर्छ । सबै समिति र जनवर्गीय सङ्गठनमा समायोजन गर्नुपर्ने काम बाँकी छ । हाम्रो पार्टीप्रति देशैभरि आकर्षण बढेको छ ।’