×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री कार्कीले भनिन् : मुलुकलाई अति आवश्यक सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने ?

प्रधानमन्त्री कार्कीले भनिन् : मुलुकलाई अति आवश्यक सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने ?

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत जस्ता मुलुकलाई अति आवश्यक सरकारी संरचना जलाउनेहरुलाई नेपाली कसरी भन्ने ? भनेर प्रश्न गरेकी छन्। यस्ता अपराधमा संलग्नलाई कारबाही हुने पनि बताइन् ।

आज पदभार ग्रहणपछि कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए ? अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

उनले यस्ता गतिविधिहरु षडयन्त्रपूर्वक भएको हुन सक्ने बताइन् । ‘हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले जेनजी युवा प्रदर्शनको क्रममा भएका यस्ता घटनाको अनुसन्धान गर्ने र कारबाही गर्ने पनि बताइन् । ‘यसबारे अनुसन्धान हुन बाँकी छ । र, अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, यसरी नोक्सान गर्नेहरुलाई, अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ ।’

सर्वोच्च अदालत, सिंहदरबार लगायतका भौतिक संरचनाहरु जल्दा महत्वपूर्ण कागजातहरु जलेको र सरकार शून्यको अवस्थामा पुगेको उनले बताइन् । ‘भौतिक क्षतिले केही हुँदो रहनेछ। त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्