×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वसांसद छिरिङ ल्हामु तामाङले छोडिन् नेकपा

पूर्वसांसद छिरिङ ल्हामु तामाङले छोडिन् नेकपा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद् छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन् । सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकोले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन् ।

उनले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन् ।

आत्मसम्मान, स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ । ‘म काम गर्ने मान्छे हुँ । मलाई सधैं अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ’, वक्तव्यमा उनले भनेकी छन् ।

आफ्नो कार्यकालभरि अरूको योगदान र क्षमतालाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण असंख्य पीडा भोग्नुपरेको उनको गुनासो छ ।

हरेक प्रयासमा अवरोध खडा गरिएको, युवाको विचारलाई दबाइएको तथा नयाँ पुस्ताको आवाजलाई निषेध गरिएको भन्दै उनले त्यस्तो वातावरणबाट मुक्त हुन चाहेको उल्लेख गरेकी छन् ।

तामाङले आफ्नो विरुद्ध राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न षड्यन्त्रहरू रचिएको आरोपसमेत लगाएकी छन् ।

पार्टी छोड्ने निर्णयपछि आफूलाई अवसरवादी भन्ने र विभिन्न आरोप लगाउने प्रयास हुन सक्ने बताउँदै उनले आफ्नो राजनीतिक पृष्ठभूमि, संघर्ष र यात्राको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरेकी छन् ।

आफूले कुनै पनि जिम्मेवारी मागेर वा दबाब दिएर प्राप्त नगरेको, समयले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास मात्र गरेको उनको भनाइ छ ।

तामाङले समाज र देश परिवर्तनको उद्देश्यका साथ राजनीति गरिरहेको अवस्थामा आफ्नै यात्रामा अवरोध खडा गरिएकाले अब स्वतन्त्र रूपमा अगाडि बढ्ने निर्णय गरेको बताएकी छन् ।

 

प्रतिकृया दिनुहोस्