काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो । आज बिहान ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लि पक्राउ परेका हुन् ।
विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थु्र गेटमा जाँच गर्ने क्रममा उनले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुन फेला परेको हो ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
यसअघि प्रहरीले आजै मात्रै करिब दुई किलो सुनसहित एक चिनियाँलाई पक्राउ गरेको थियो । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानह्वा वाङ पक्राउ परेका थिए ।
उनी हङकङबाट नेपाल वायु सेवा निगमको उडान नम्बर आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका थिए ।