काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले देशको स्वाधीनताको रक्षा र फासिवादी खतरा विरुद्ध संयुक्त मोर्चा निर्माण गर्न पहल गरिने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित पार्टी सम्बद्ध जनवर्गीय संगठन, मोर्चा र विभागको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्ताको फासिवादी प्रवृत्ति विरुद्ध संयुक्त मोर्चा जरुरी रहेको औँल्याएका हुन्।
भदौ २३ र २४ गतेपछि मुलुकको परिस्थितिमा निकै फेरबदल आएको दाबी गर्दै उनले अहिले संविधानका प्रगतिशील प्रावधान समेत खारेज गरेर फासिवाद उन्मुख प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाए। प्रवक्ता प्रकाण्डले नागरिकको दैनिक जीवन कष्टकर हुँदै गएको र सडकबाट जनअधिकारको आवाज उठाउनेलाई राज्यले दमन गरिरहेको उल्लेख गर्दै अब त्यसविरुद्ध संयुक्त मोर्चा निर्माण गर्न छलफल अगाडि बढाइएको बताए।
उनले भने, ‘साम्राज्यवादी हस्तक्षेप र फासिवाद आजको प्रमुख चुनौती हो, यो कुरा देशको हित चाहने अन्य राजनीतिक शक्तिहरूले पनि महसुस गरेको देखिन्छ। त्यसैले सबै देशभक्त, सच्चा लोकतान्त्रिक शक्ति र वामपन्थी एवम् कम्युनिस्ट शक्तिहरूका बिच संयुक्त मोर्चा अनिवार्य छ।’
प्रशिक्षणका क्रममा उनले सुकुमबासी विरुद्ध गरेको हस्तक्षेप, सरकारको नीति तथा कार्यक्रम, सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति र रास्वपा महाधिवेशनसम्म आउँदा सरकारको रबैयाप्रति प्रश्न उठ्न थालिसकेको दाबी गरे।
कार्यक्रममा प्रवक्ता प्रकाण्डले पार्टीभित्र एकथरी व्यक्तिले एकताको नाममा गुटबन्दी गर्ने र पार्टीको नीति तथा नेतृत्व विरुद्ध षड्यन्त्र गर्न खोजेकाले उनीहरूलाई हालै सम्पन्न सचिवालय बैठकले जिम्मेवारीबाट मुक्त गरेको जानकारी दिए। उनले एकताको नाममा भ्रम सिर्जना गर्न खोजिएको स्पष्ट पार्दै भने, ‘हामी कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकता चाहन्छौँ, त्यसको अर्थ विचार, उद्देश्य, वर्ग र समाजवादी क्रान्तिप्रतिको पार्टीको प्रतिबद्धता नै छोडेर कुनै पार्टीमा गएर मिसिने कुरा होइन। विचार र संगठनको विषयलाई छोडेर जुन साथीहरूले एकता गर्नुपर्छ भन्नुभयो, त्यसले उहाँहरूले न पार्टी र पार्टीको विचार बुझ्नुभयो, न त उहाँहरूले आफैँलाई बुझ्न सक्नुभयो, यो निराशा र पलायनताको कुरा मात्रै हो।’
एकता भन्ने बित्तिकै विचार, कार्यक्रम र नेतृत्वको विषयमा छलफल गरेर नयाँ आधारमा अगाडि जाने कुरा हुने भन्दै उनले अहिले एकताको कुरा गर्नेहरू त्यो हिसाबले जाने स्थितिमा नरहेको प्रश्न गरे। प्रचण्ड नेतृत्वको पार्टीमा जाने कुरा गरिरहेका नेताहरूतर्फ लक्षित गर्दै उनले भने, ‘जुन साथीहरू अहिले प्रचण्ड नेतृत्वको पार्टीमा जाने कुरा गर्दै हुनुहुन्छ, त्यसले त्यो पार्टीमा के फरक पर्छ ? मलाई लाग्छ त्यसको कुनै अर्थ र सान्दर्भिकता छैन, त्यसले केही अर्थ राख्दैन। प्रचण्डको पार्टीमा चाहिएको पार्टीको रूपान्तरण र नेतृत्वको कुरा हो, कार्यकर्ताको त त्यहाँ पनि कमी छैन।’
देशको वर्तमान आर्थिक राजनीतिक स्थितिको पछाडि भूराजनीतिक पक्ष र नवउदारवादी पुँजीवादको प्रणालीगत संकट समेत जोडिएकाले त्यस विरुद्ध समाजवादी क्रान्तिको तयारी गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि पहल गर्नुपर्ने बेला आएको उनको भनाइ थियो।