×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा

कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा

काठमाडौं । कैलाली कारागारमा एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएको ३६ घण्टा बित्दासमेत स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।

घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।

सोही कारण घटनाको ३६ घण्टा बितिसक्दा समेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन ।

मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयको टोलीसँग कैदीबन्दीहरूले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बालनरसिंह राणा बाहेकका माथिल्लो तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन् ।

उनीहरूले गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए ।

हमालले अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।

कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् ।

१४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।

सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।

तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ ।

शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् ।

घाइतेहरूमध्ये गोदावरीका आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं  लगिएको छ भने दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार जारी छ ।

अन्य घाइते सेती अस्पताल मातहतकै कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । १५० जना क्षमताको कैलाली कारागारमा करीब सात सय जनालाई राखिएको छ ।

प्रतिकृया दिनुहोस्