काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ ।
केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्मालाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । उनको दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।
शर्माको पार्थिव शरीर आज साँझ घोराही १८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको अन्त्येष्टि भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवा खोलामा गरिने शर्माका ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए ।
शर्माको विसं १९९७ साल जेठ १५ गते जन्म भएको थियो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनी निवृत्त शिक्षक पनि हुन् । उनका चार छोरी र एक छोरा रहेका छन् ।