×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा कांग्रेस-एमालेका शाही र रखाल विजयी

राष्ट्रिय सभा निर्वाचन: कर्णालीमा कांग्रेस-एमालेका शाही र रखाल विजयी

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् । आइतबार वीरेन्द्रनगरमा भएको मतदानमा कांग्रेस एमाले गठबन्धनका उम्मेद्वारहरू विजयी भएका हुन् ।

कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि निर्वाचन भएको थियो । जसमा अन्य कलस्टरबाट उम्मेदवार कांग्रेस प्रदेश सभापति शाही र महिलातर्फ एमालेकी केन्द्रीय सदस्य रखाल निर्वाचित भएका छन् ।

काँग्रेसका शाहीले प्रदेशतर्फ २५ र स्थानीयतर्फ १०० मत पाएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । उनका अनुसार एमालेकी रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तह तर्फ ९३ मत पाएकी छिन् ।

नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । नेकपाले रुकुम पश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतरालाई उम्मेदवार बताएका थियो । पराजित भएका नेकपाका उम्मेदवार शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरे ।

महिलातर्फकी उम्मेदवार अन्जु महतराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत पाइन् । खसेको कुल मतमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए ।

राप्रपाकी सांसद सन्तोषी शाहीले भने मतदान गरिनन् । स्थानीय तहतर्फ १५८ मतदाता रहेकोमा १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।

आइतबार भएको मतदानमा कुल ९६.४६ मत खसेको निर्वाचन अधिकृत गुरुङले जानकारी दिए । उनका अनुसार, कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।

प्रतिकृया दिनुहोस्