काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंक घटेको हो । सो कमीपछि नेप्से २७३३ अंकमा झरेको छ ।
दिउँसो १:२२ बजे नेप्से आजको न्यूनतम अंक २७०२ अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको हो । अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिसकेको छ । बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले नेप्से घटेको थियो ।
आज कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो।
१०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ को स्थिर रह्यो । फाइनान्स सबैभन्दा धेरै १.०१ प्रतिशत घट्यो । अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.०३ अंक मात्रै घट्यो । विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार ०.३८ प्रतिशत घटे । अन्य ०.२९, उत्पादन तथा प्रशोधन ०.२६, जलविद्युत् ०.०१, होटल तथा पर्यटन समूह ०.१२ प्रतिशत बढे ।
सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । यी दुवै हालै बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।