काठमाडौँ । एप्पलले आफ्ना आगामी प्रो मोडेलका आईफोनहरूमा सेल्फी क्यामेराको क्षमतालाई बढाउने सङ्केत मिलेको छ । पछिल्लो हल्ला अनुसार, यसै वर्ष (२०२६) सार्वजनिक हुने आईफोन १८ प्रो र १८ प्रो म्याक्समा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुनेछ ।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ‘ह्वाइल्याब’ (Whylab) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार, एप्पलले सेल्फी क्यामेराको सेन्सरमा ठुलो सुधार गर्न लागेको हो । यसअघि सन् २०२४ मा सार्वजनिक भएको आईफोन १६ प्रोमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको थियो भने आईफोन १७ प्रोमा १८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।
यद्यपि, यो नयाँ अपग्रेड प्रो मोडेलहरूमा मात्र सीमित हुनसक्ने बताइएको छ । यदि यो चर्चा सही सावित भएमा नयाँ सेन्सरले प्रयोगकर्तालाई भिडिओ कल, सेल्फी र विशेषगरी कम प्रकाश भएको स्थानमा उत्कृष्ट गुणस्तर प्रदान गर्ने प्रविधि विज्ञहरूको भनाइ छ ।
क्यामेराका साथै आईफोन १८ प्रो सिरिजको डिजाइनमा पनि महत्त्वपूर्ण परिवर्तन हुने देखिएको छ । एप्पलले डिस्प्लेमा रहेको डाइनामिक आइल्याण्डको आकारलाई निकै सानो बनाउने र फेस आईडीका केही महत्त्वपूर्ण कम्पोनेन्टहरूलाई डिस्प्लेमुनि (अन्डर-डिस्प्ले) राख्ने तयारी गरेको छ । यसले गर्दा फोनको डिस्प्ले अझ आकर्षक र ठुलो देखिनेछ ।
एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १८ प्रो सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सोही अवसरमा कम्पनीले आफ्नो निकै प्रतिक्षित ‘आईफोन फोल्ड’ पनि बजारमा ल्याउन सक्ने सम्भावना रहेको छ । कम्पनीले हालसम्म यसबारे कुनै आधिकारिक जानकारी भने दिएको छैन ।