×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

काठमाडौं । इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ ।

सरकारी सञ्चारमाध्यमहरूले शुक्रबार बिहान खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको जनाएका छन् । विशाल सुनौलो गुम्बज र सुनले मढिएका मिनारहरूले सजिएको यो धार्मिक परिसर शिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थलमध्ये एक मानिन्छ ।

दफन प्रक्रिया निजी रूपमा सम्पन्न गरिएको भए पनि त्यसअघि एक सातासम्म सार्वजनिक श्रद्धाञ्जली र शवयात्राहरू आयोजना गरिएका थिए । ती कार्यक्रममा करिब एक करोड ५० लाखभन्दा बढी मानिस सहभागी भएको र इरानी अनुमानअनुसार भने यो संख्या तीन करोडभन्दा बढी हुन सक्ने बताइएको छ ।

तर अन्त्येष्टिका क्रममा खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएनन् । उनी फेब्रुअरी २८ मा तेहरानको केन्द्रमा रहेको खामेनीको निवासमा भएको अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएको बताइएको छ । उक्त आक्रमणमा खामेनी मारिएका थिए । त्यसलाई अमेरिका–इजरायल तथा इरानबीचको युद्धको सुरुआतका रूपमा हेरिएको छ ।

खामेनीको अन्त्येष्टि सुरुमा मार्च महिनामै गर्ने योजना थियो । तर युद्धका कारण त्यो स्थगित गरिएको थियो ।

सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो । त्यहाँ खामेनीको शव राखिएको कफिन सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । कार्यक्रममा गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डल पनि सहभागी भएका थिए । भोलिपल्ट त्यही मस्जिदमा अझ ठूलो भीड जम्मा भएको थियो ।

सोमबार कम्तीमा एक करोड २० लाख मानिस तेहरानका सडकमा उत्रिएका थिए । खामेनीको कफिन ट्रकको पछाडि राखेर करिब १० किलोमिटर लामो शवयात्रा निकालिएको थियो, जुन इस्लामिक क्रान्ति (१९७९) यताकै सबैभन्दा ठूलो सार्वजनिक जमघट हुने स्थल आजादी स्क्वायरसम्म पुगेको थियो ।

मंगलबार पवित्र सहर कोममा पनि हजारौं मानिसहरुले अर्को शवयात्रामा सहभागिता जनाएका थिए । त्यसपछि खामेनीको कफिन इराक लगिएको थियो । बुधबार नजफ—शिया इस्लामको तेस्रो सबैभन्दा पवित्र सहर र त्यसपछि कर्बलामा पनि शवयात्रा निकालिएको थियो ।

प्रतिशोधको माग

बिहीबार बिहान खामेनीको शव विमानमार्फत मशहद पुर्‍याइएको थियो । त्यसपछि अन्तिम शवयात्राका लागि ट्रकमा राखिएको थियो । युद्ध सुरु गराएको हवाई आक्रमणमा खामेनीसँगै मारिएका उनका परिवारका चार सदस्यको कफिन पनि सँगै निकालिएको थियो ।

कालो पोशाकमा रहेका शोकाकुलहरू इरानी झण्डा, स्वर्गीय खामेनीका तस्बिर तथा क्रान्तिकारी नारासहितका रातो प्लेकार्ड बोकेर शवयात्रामा सहभागी भएका थिए ।

उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिशोधको माग गर्दै नाराबाजी पनि गरेका थिए ।

‘सर्वोच्च नेताको रगतको कसम, ट्रम्प, हामी तिमीलाई मार्नेछौँ,’ भन्दै उनीहरूले नारा लगाएका थिए । केही महिलाले ‘ट्रम्पलाई मार’ लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

अन्तिम चरणमा भीड अत्यधिक बढेपछि ट्रक अघि बढ्न नसकेकाले खामेनीको कफिन हेलिकोप्टरमार्फत इमाम रेजाको दरगाह पुर्‍याइएको थियो । खामेनीले त्यहीँ दफन हुने इच्छा व्यक्त गरेका थिए ।

खामेनीको दफन हुनुभन्दा केही घण्टा अघि इरानको एक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर नजिकैको चोगादाक क्षेत्रमा धेरै विस्फोटको आवाज सुनिएको मेहर समाचार एजेन्सीले जनाएको छ । दक्षिणी सहर कोनारकमा पनि थप तीनवटा विस्फोट भएको समाचारमा उल्लेख छ ।

तर अमेरिकी केन्द्रीय कमान्डले पछिल्ला केही घण्टामा अमेरिकी सेनाले इरानमा कुनै पनि आक्रमण नगरेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिका र इरानले जुन १७ मा युद्ध रोक्ने उद्देश्यसहित प्रारम्भिक सहमति गरेका थिए । त्यसअनुसार स्थायी सम्झौताका लागि वार्ता जारी राख्ने भनिए पनि युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैले दुवै पक्षबीच पटक–पटक आक्रमण र प्रत्याक्रमण हुँदै आएको छ ।

मंगलबार इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरमाथि आक्रमण गरेपछि अमेरिकी सेनाले लगातार दुई रात इरानमा आक्रमण गरेको थियो । त्यसपछि बुधबार अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरेका थिए ।

उनले भनेका थिए, ‘मेरो विचारमा यो समाप्त भइसकेको छ । म अब उनीहरूसँग व्यवहार गर्न चाहन्नँ । उनीहरू घृणित मानिस हुन्‘।’

अमेरिकी हवाई आक्रमणको जवाफमा इरानले कुवेत, बहराइन, कतार र जोर्डनमा रहेका अमेरिकीसँग सम्बन्धित लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यद्यपि पछिल्ला झडपका बाबजुद दुवै पक्षले फेरि पूर्ण स्तरको युद्ध सुरु गर्ने कुनै स्पष्ट संकेत नदिएको अलजजिराले जनाएको छ ।

प्रतिकृया दिनुहोस्