काठमाडौं । उत्तर कोरियाले बुधबार पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइलको परीक्षण गरेको छ ।
आफ्नो नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्न परीक्षण गरिएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।
बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार उत्तर कोरियाको पूर्वी तटबाट टाढा समुद्रमा मिसाइल परीक्षण गरिएको थियो । परीक्षणका क्रममा वरिष्ठ सैन्य अधिकारीहरू उपस्थित रहेको केसीएनएले उल्लेख गरेको छ ।
परीक्षण गरिएका मिसाइलको विशेषता र प्रक्षेपण प्रक्रियाबारे उत्तर कोरियाले थप विवरण सार्वजनिक गरेको छैन । परीक्षणले छिमेकी मुलुकको सुरक्षामा कुनै प्रतिकूल प्रभाव नपारेको पनि उसले दाबी गरेको छ ।
उत्तर कोरियाले पछिल्लो समय आधुनिक मिसाइल पनडुब्बी निर्माण तथा ब्यालेस्टिक र क्रुज मिसाइल विकासलाई तीव्रता दिँदै आएको छ । उसले पुराना पनडुब्बीसहित विभिन्न प्रक्षेपण प्रणालीबाट मिसाइल परीक्षण गर्दै आएको छ ।
यद्यपि, उत्तर कोरियाले आधुनिक मिसाइल पनडुब्बीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेको विश्वास गरिएको छैन । त्यस्तो पनडुब्बी विकास गर्नु नेता किम जोङ उनको प्रमुख सैन्य प्राथमिकतामध्ये एक रहेको छ ।
किमले पछिल्लो समय विभिन्न प्रकारका रणनीतिक ब्यालेस्टिक र क्रुज मिसाइलको विकासलाई प्रत्यक्ष निगरानी गर्दै आएका छन् । पनडुब्बीबाट प्रहार गर्न सकिने मिसाइलले उत्तर कोरियाको समुद्री सैन्य क्षमता विस्तार गर्नुका साथै सम्भावित आक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताइएको छ ।
(रोयटर्सको सहयोगमा)