काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनालाई सहयोग गर्ने कम्पनीको रूपमा सूचीकृत गर्दै आफ्नो कालोसूची (ब्ल्याक लिस्ट)मा राखेको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको अद्यावधिक कालो सूचीमा अलीबाबा, बीवाईडी र बाइडु पनि समावेश छन् ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले पेन्टागनको सो निर्णयको आलोचना गर्दै यसलाई ‘भेदभावपूर्ण र गलत अभ्यास’ भनेर आलोचना गरेको छ । दूतावासका एक प्रवक्ताले भनेका छन्, ‘विदेशमा व्यवसाय गर्ने चिनियाँ कम्पनीहरूले सम्बन्धित देशका कानुन र नियमहरूको कडाइका साथ पालना गरेका छन् । अमेरिकाले आफ्नो गलत अभ्यास रोक्नुपर्छ र चिनियाँ कम्पनीहरूका लागि निष्पक्ष, न्यायपूर्ण तथा भेदभावरहित वातावरण सिर्जना गर्नुपर्छ ।’
चीनको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अलीबाबाले आफूलाई कालोसूचीमा राख्न कुनै आधार नभएको भन्दै यसविरुद्ध ‘कानुनी उपाय’ अपनाउने प्रतिक्रिया दिएको छ । कम्पनीका प्रवक्ताले भनेका छन्, ‘अलीबाबा न त चिनियाँ सैन्य कम्पनी हो, न त कुनै सैन्य–नागरिक एकीकरण रणनीतिको हिस्सा । हाम्रो कम्पनीबारे गलत चित्रण गर्ने प्रयासविरुद्ध हामी उपलब्ध सबै कानुनी उपाय अपनाउनेछौँ ।’
बीवाईडी र बाइडुले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
पेन्टागनले हरेक वर्ष अद्यावधिक गर्ने ‘चिनियाँ सैन्य कम्पनीहरू’को सूचीमा अहिले १८८ कम्पनी समावेश छन्, जुन सन् २०२५ मा १३४ थियो ।
पेन्टागनले चिनियाँ सैन्य कम्पनी भन्नाले चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेका, वा चीनको सैन्य–नागरिक एकीकरण रणनीतिमा योगदान पुर्याउने संस्थालाई जनाउँछ ।
अद्यावधिक सूचीमा पेन्टागनले अलीबाबा, बीवाईडी र बाइडुले चीनको राज्य स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको सम्बन्धमार्फत चीनको सैन्य विकासलाई सहयोग गरेको दाबी गरेको छ ।