×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछाने रुपन्देही अदालत हाजिर, अर्को तारेख २३ वैशाखमा

रवि लामिछाने रुपन्देही अदालत हाजिर, अर्को तारेख २३ वैशाखमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले २०८२ साल वैशाख २३ गते अर्को तारेख दिएको छ ।

बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए ।

अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अर्को तारेख २३ वैशाखलाई दिइएको जानकारी दिए । उनले सोमबार रविको तारेख परेको र सोही तारेख बुझ्न अदालतमा उपस्थित भएको पनि बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।

सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् ।

लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्