काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको थियो । उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक छन् ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली घटनास्थलमा खटिएको छ । संयुक्त सुरक्षा टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।