×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बस्नेतलाई सुबोधको जवाफ: धाकधम्की छाडेर वुद्धि विवेकसहितको स्वस्थ प्रतिस्पर्धामा आउनुस

बस्नेतलाई सुबोधको जवाफ: धाकधम्की छाडेर वुद्धि विवेकसहितको स्वस्थ प्रतिस्पर्धामा आउनुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले धाकधम्कीको राजनीति छाडेर वुद्धि विवेकसहितको स्वस्थ प्रतिस्पर्धामा आउन कांग्रेस सांसद मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् । शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा सापकोटाले यस्तो आग्रह गरेका हुन् ।

सापकोटा र बस्नेत सिन्धुपाल्चोकको एउटै क्षेत्रका नेता हुन् । उनीहरू दुवै पार्टीका केन्द्रीय सदस्य पनि हुन् । गत निर्वाचनमा सापकोटाले क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने अडान लिएपछि बस्नेत दुई नम्बर निर्वाचन क्षेत्रमा गएका थिए ।

तर, पछिल्लो पटक एमाले–कांग्रेसको गठबन्धन बनेपछि उनीहरूको सम्बन्ध बिग्रिएको छ । गत २२ मंसिरमा त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित एक सभामा बोल्ने क्रममा कांग्रेस सांसद बस्नेतले धम्कीपूर्ण भाषा प्रयोग गर्दै सापकोटामाथि चुनौती तेर्स्याएका थिए ।

त्यसयता सार्वजनिक समारोहमा सापकोटाले खासै बस्नेतमाथि कुनै टिप्पणी गरेका थिएनन् ।

शनिबार बस्नेतकै गृहपालिका समेत रहेको बाह्रबिसेमा आयोजित सभामा बोल्ने क्रममा सापकोटाले बस्नेतलाई प्रतिस्पर्धाको छेउमा पनि आउनसक्ने अवस्था बस्नेतको नभएको दाबी गरे ।

‘धाक भन्दा धक्कू ठूलो भनेजस्तो जे गरिरहनुभएको छ । तपाईंको पतनको यात्रा त्यहाँबाट सुरु भएको छ । यसलाई रोकेर, ज्ञानको आयतन बढाएर, वुद्धि विवेक लगाएर बहस गर्न आउनुहुन्छ ?,’ सापकोटाले भने, ‘स्वस्थ प्रकारको प्रतिस्पर्धा गर्नका लागि राजनीतिक उच्च संस्कारसहित सुविचारित ढंगले गर्न हामी तयार छौं । अरु दायाँबायाँ गरेर आउनुभयो भने यो पूरानो तरिका हो, तपाईं हामीसँग प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न ।’

उनले बस्नेतलाई संसद्को सामान्य ज्ञान नभएको आरोप समेत लगाएका छन् ।

‘कति प्रतिशत प्रतिनिधिसभाका बैठकमा जानुभयो ? कतिपटक सांसद हुनुभयो ? कतिवटा विधेयक बनाउन संशोधन दर्ता गर्नुभयो ?’, सापकोटाले भनेका छन्, ‘मलाई त के लाग्छ भने कानुन निर्माणको प्रक्रिया के छ भन्ने पनि उहाँलाई थाहा छ जस्तो लाग्दैन । किनभने उहाँले त्यो प्रक्रियामा भाग नै लिएको छैन ।’

बस्नेतले मंसिरमा भनेका थिए, ‘चुरीफुरी गरेर रुख ढाल्ने काम भयो भने सुबोध सापकोटा (माधव), अग्नि सापकोटा लगायत लिखुरेहरूलाई लाई गर्धन मुनि, रुख माथि पारिदिन्छु ।’

त्यसतर्फ इंगित गर्दै सापकोटाले भनेका छन्, ‘तिघ्राका कुरा छाडिदिनुस्, कुस्ती गर्ने कुरा धेरै अगाडिको कुरा हो । अहिले कृत्रिम वौद्धिकताको कुरा आइसक्यो ।’

प्रतिकृया दिनुहोस्