काठमाडौँ । अमेरिकामा ७७ वस्तुको निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर लाग्ने भएको छ । सन् २०१५ देखि अमेरिकाले नेपालका विभिन्न वस्तु आयातमा दिँदै आएको कर छुट सुविधा आजदेखि अन्त्य भएको हो ।
नेपालमा गएको भूकम्प गएपछि अमेरिकाले नेपाललाई सहयोगस्वरुप यस्तो ट्यारिफ छुटको व्यवस्था गरेको थियो । यस अन्तर्गत नेपाली पस्मिनाका सल, मफलर, टोपी, लगायतका ४८ वस्तुहरू अमेरिकामा निर्यात हुँदै आएका छन् । छुट सुविधा दिए पनि बाँकी वस्तु भने निर्यात हुन सकेका थिएनन् ।
यो सुविधा अन्त्य भएसँगै नेपाली वस्तुले २६ प्रतिशतसम्म कर तिर्नुपर्ने नेपाल निर्यात परिषद्का निवर्तमान अध्यक्ष रमेश बहादुर पोखरेल बताउँछन् । यो ट्यारिफमध्ये १० प्रतिशत अमेरिकाले लगाइएको बेसलाइन ट्यारिफ अन्तर्गतको हो भने बाँकी छुट सुविधा अन्त्य भएबापतको हो ।
‘हिजोसम्म हामीले सबै आइटममा १० प्रतिशत तिथ्र्यौं, अब २६ प्रतिशतसम्म तिर्नुपर्छ,’ पोखरेल भन्छन्, ‘हामीले सुविधा पाएका वस्तुमा अमेरिकाले ६ देखि १६ प्रतिशतसम्म ट्यारिफ लाग्ने गरेको छ ।’
सुविधा अन्त्य हुने समय नजिकिएसँगै निर्यातकर्ता सम्बद्ध व्यावसायिक संघका पदाधिकारीहरूले सुविधा निरन्तरताको लागि पहल गरिदिन भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । मन्त्रालयले यसका लागि पहल गरेपछि छुट सुविधा अन्त्य हुने दिनसम्म यसको रिजल्ट नदेखिएको पोखरेल बताउँछन् ।