काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस देशव्यापी रूपमा भव्य रुपमा मनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पनि पुर्याएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै नेफिनले यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ,पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा मनाउने दिवसका सन्दर्भमा आयोजना गरिने कार्यक्रमहरुको तयारी पूरा भएको जानकारी दिएको हो ।
महासङ्घले यस दिवसले नेपालको विविधता, सहअस्तित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
महासङ्घले श्रावण २४ गते बिहान ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपबाट विशाल सांस्कृतिक ¥याली निकालिने जनाएको छ । मौलिक जातीय भेषभूषा, बाजागाजा, लोकगीत, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यसहित सुरु हुने ¥याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।
कार्यक्रममा काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट हजारौँ आदिवासी जनजाति प्रतिनिधि, जातीय संस्था, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहहरूको उल्लेखनीय सहभागिता रहने जनाएको छ।
टुँडिखेलस्थित खुला मञ्चमा आयोजना हुने मूल समारोहमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उपराष्ट्रपति प्रमुख अतिथिका रूपमा सहभागी हुने अपेक्षा गरिएको छ।
साथै नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संवैधानिक निकायका प्रमुख, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार संस्था, नागरिक समाज, मानवअधिकारकर्मी, शिक्षाविद्, बुद्धिजीवी, कलाकार, पत्रकार तथा देशभरबाट आएका हजारौँ आदिवासी जनजाति प्रतिनिधिको उपस्थिति रहने महासङ्घले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुति रहनेछन् ।
नेवार समुदायको धिमे नाच, मगर समुदायको डिग्रे नाच, तामाङ सेलो, डम्फु, शेर्पा स्वागत नृत्य, थकाली नृत्य, राजवंशी नाच, माझी ख्याली नाच, सुनुवार नाच, थामी मारुनी नाचलगायत विभिन्न जातीय समुदायका मौलिक नृत्य, गीत, बाजागाजा तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिने महासङ्घले जनाएको छ।
यी प्रस्तुतिहरूले नेपालको बहुल सांस्कृतिक पहिचान, मौलिक परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणको सन्देश प्रवाह गर्ने विश्वास आयोजकको छ ।
टुँडिखेल परिसरमा आदिवासी समुदायका मौलिक रैथाने परिकार, हस्तकला, स्थानीय उत्पादन, भेषभूषा, कलाकृति तथा सांस्कृतिक सम्पदाको प्रदर्शनी र फुड फेस्टिभलसमेत आयोजना गरिनेछ।
करिब ५० हजार सहभागी रहने अनुमान गरिएकाले कार्यक्रम अवधिभर मोबाइल सञ्चार सेवा सहज बनाउन नेपाल टेलिकमको सेल अन ह्विल्स सेवा सञ्चालन गरिने तथा ६० देशका पत्रकारहरूको सहभागितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको महासङ्घले जनाएको छ । सहभागीको स्वास्थ्य, सरसफाइ तथा आधारभूत सुविधाका लागि आवश्यक पूर्वतयारी पूरा भइसकेको पनि महासङ्घले जानकारी दिएको छ ।
महासङ्घका अनुसार दिवसको अवसरमा मूल समारोहमा मात्र सीमित नरही देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुनेछन् । विचार गोष्ठी, अन्तरक्रिया, सांस्कृतिक महोत्सव, भाषा संरक्षण कार्यक्रम, रक्तदान, वृक्षारोपण, युवा तथा महिला सम्मेलन, खेलकुद, पुस्तक तथा फोटो प्रदर्शनी, मातृभाषा पत्रकारिता सम्मेलन, आदिवासी ज्ञान र जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछन्।
पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै आदिवासी जनजातिहरूको अधिकार कार्यान्वयनमा राज्य अझै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।