काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।
कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्।
यो रोग हाल इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको १७औँ प्रकोप हो।
चिन्ता किन बढ्यो ?
विशेषज्ञहरूका अनुसार, यस पटक इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेन फेला परेको छ, जबकि यसअघि कंगोमा धेरैजसो केसहरू ‘जायरे’ स्ट्रेनका हुन्थे। हाल उपलब्ध धेरैजसो इबोलाका खोप र उपचार जायरे स्ट्रेनलाई ध्यानमा राखेर बनाइएकाले यस नयाँ स्ट्रेनले अधिकारीहरूको चिन्ता बढाएको छ।
इटुरी प्रान्तको राजधानी बुनियाका बासिन्दाले त्यहाँ त्रासको माहोल रहेको बताएका छन्। स्थानीय निवासी जीन मार्क असिम्वेका अनुसार पछिल्लो एक हप्तादेखि लगातार मृत्यु भइरहेको छ र कहिलेकाहीँ एकै दिन २(३ वा सोभन्दा बढी मानिसको अन्तिम संस्कार गर्नुपरेको छ।
मानिसहरूले सुरुमा यो रोग के हो भनेर बुझ्न नै सकेका थिएनन्। यद्यपि, बुनियाका बजार र सार्वजनिक स्थलहरूमा भने सामान्य गतिविधि जारी नै छ।