×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विप्लवले बोलाए केन्द्रीय समितिको आकस्मिक बैठक

विप्लवले बोलाए केन्द्रीय समितिको आकस्मिक बैठक

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नियमित केन्द्रीय समिति बैठक सम्पन्न भएको एक महिनामै आकस्मिक बैठक बोलाएको हो । जेनजी विद्रोह पछिको पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण, विचार मिल्ने वामपन्थीबिच एकता र ध्रुवीकरण लगायत विषयमा निर्णय लिन बैठक बोलाइएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

‘पछिल्लो राजनीतिक अवस्था, वामपन्थीबिच एकता र ध्रुवीकरण लगायत विषयमा निर्णय लिन केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको हो । माओवादी केन्द्रसँग एकताका लागि प्रारम्भिक छलफल भए पनि ठोस रूपमा अगाडि बढेको छैन । खास गरी पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो’, विरहीले भने ।

विरहीका अनुसार असोज २३ गते स्थायी समिति र २५ गते केन्द्रीय समिति बैठक कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बोलाइएको हो । यसअघि नेकपाले भदौ १७ गतेदेखि २० गतेसम्म स्थायी समिति, भदौ २१ देखि २२ गतेसम्म पोलिटब्युरो र भदौ २३ देखि २६ गतेसम्म केन्द्रीय समिति बैठक सम्पन्न गरेको थियो ।

भदौ २३ र २४ गते बैठक चलिरहँदा जेनजी विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेसरएमाले गठबन्धन सरकार ढलेको थियो । सो आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गरी ध्वस्त बनाइएको थियो । अहिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । जननिर्वाचित संसद् विघटन गरी फागुन २१ गते मध्यावधि निर्वाचन घोषणा भएको छ । नेकपाले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा उपयोग गर्ने नीति लिए पनि ठोस निर्णय गरेको थिएन ।

यता नेकपासँग एकता गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । तर यथास्थितिमा माओवादीसँग एकता महाधिवेशन हुने सम्भावना नरहेको विरहीले जिकिर गरेका छन् ।

‘माओवादीसहित सिङ्गो समाजवादी मोर्चासँग एकता गर्ने भनिएको हो । तर माओवादीले केन्द्रीय समिति विघटन गरी मङ्सिरमा महाधिवेशन गर्ने तयारीमा जुटेको छ । पार्टी एकता गर्ने भनेको विचार, सिद्धान्त, कार्यदिशाको आधारमा हुने हो । अहिलेसम्म सामान्य छलफल बाहेक प्रक्रिया नै अगाडी बढेको छैन’, उनले भने ।  

प्रतिकृया दिनुहोस्