काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुई दिने औपचारिक राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक प्रभावित हुँदा काठमाडौँ आउँदै गरेका अन्य विमानहरू आकाशमै होल्ड भएका छन् ।
शाह आइतबार दिउँसो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् । अति विशिष्ट (भिआइपी) उडानको सुरक्षा तथा हवाई व्यवस्थापन प्रोटोकलका कारण विमानस्थलमा नियमित उडान तथा अवतरण रोकिँदा काठमाडौँ आउने र उड्ने क्रममा रहेका जहाजहरू आकाश र धावनमार्ग आसपास नै प्रतीक्षामा बस्नुपरेको हो ।
विमानहरूको प्रत्यक्ष उडान विवरण देखाउने ‘फ्लाइट राडार २४’ का अनुसार प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको उडान नम्बर ‘आरए २१७’ (कलसाइन आरएनए २१७) एयरबस ए–३२० विमान दिउँसो १ बजेर ४५ मिनेटमा उड्ने तालिका रहे पनि निर्धारित समयभन्दा २३ मिनेट ढिलो गरी दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौँबाट उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै ललितपुरको लगनखेल, जावलाखेल र भैँसेपाटी क्षेत्रको आकाश हुँदै दिल्लीतर्फ सोझिएको उक्त उडान भारतीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेकोमा उडान ढिलाइका कारण ३ बजेर २० मिनेटमा अवतरण हुने अनुमान गरिएको छ ।
प्रधानमन्त्रीको उडानका लागि आकाश खाली गरिँदा काठमाडौँ अवतरण गर्न आउँदै गरेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू बाराको निजगढ र मकवानपुरको हेटौँडा बिचको आकाशमा लामो समय होल्ड हुन पुगेका थिए ।
फ्लाइट राडार २४ को नक्सामा सिमरा विमानस्थल तथा पर्सा राष्ट्रिय निकुञ्ज आसपासको निजगढ–हेटौँडा आकाशमा बुद्ध एयरको कोलकाता–काठमाडौँ उडान ‘बीएचए १६४’ले पटक–पटक फन्को मारेर मात्रै अवतरण गरेको थियो ।
सोही होल्डिङ क्षेत्रको आकाशमा अन्य दुई वटा जहाजसमेत सँगै चक्कर लगाइरहेको देखिएको छ भने काठमाडौँको उत्तर–पश्चिम आकाशमा अर्को एक जहाज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा समेत केही विमानहरू उडान तथा अवतरणको पालो पर्खिरहेका देखिएका छन् ।
सामान्यतया सरकार प्रमुख वा राष्ट्रप्रमुखको उडानका क्रममा हवाई सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि निश्चित समय अन्य विमानको उडान–अवतरण रोक्ने प्रचलनअनुसार यी जहाजहरू होल्डमा परेका हुन् । भारत भ्रमणका सम्पूर्ण औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नै नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँ फर्कनेछन् ।