×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै

रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै

ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिवार रथलाई सुनधाराबाट तानेर चक्रबहिल पुर्‍याइएको छ । आइतबार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । 

जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो ।

 रातो मत्स्येन्द्रनाथको जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ । पौराणिक कथा अनुसार कुनै समय काठमाडौँ उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो । गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन । 

ऋषिमुनि र तान्त्रिकहरूको सल्लाहमा राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरुप कामाख्याबाट नेपाल ल्याएका थिए । आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ उठेर दर्शन गर्न जाँदा नागहरू स्वतन्त्र भए र उपत्यकामा वर्षा भयो ।

त्यसै बेलादेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूज्न र जात्रा गर्न थालियो ।

प्रतिकृया दिनुहोस्