काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ ।
पार्टीमा आगामी रणनीति कस्तो अपनाउने भनेर यो समूहका नेता पूर्णबहादुर खड्काले विभिन्न छलफल गरिरहेका छन् ।
आज देउवा समूहका पूर्व केन्द्रीय सदस्यहरू भेला भएका छन् । नेताहरू धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा भेला भएका हुन् । यसअघि शनिबार खड्काले आफ्नो निवासमा बोलाएर तत्कालीन पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलले सर्वोच्च अदालतको निर्णयमा असहमति भए पनि स्वीकार गर्ने निष्कर्ष निकालेको थियो ।
भेलामा पूर्णबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमानसिंहलगायत नेताहरू सहभागी छन् । आजको भेलाले पार्टीमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।