×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा : मंसिर २५ देखि पर्यटन महोत्सव र लगानी सम्मेलन हुने

‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा : मंसिर २५ देखि पर्यटन महोत्सव र लगानी सम्मेलन हुने

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन, कृषि उपजको बजारीकरण र निजी क्षेत्रको लगानी भित्र्याउने उद्देश्यसहित ‘सुनापति भ्रमण वर्ष–२०८३’ को घोषणा गरेको छ । सोही अभियानअन्तर्गत आगामी मंसिर २५ देखि २७ गतेसम्म ऐतिहासिक तथा धार्मिक स्थल सुनापति डाँडामा त्रिदिवसीय ‘सुनापति पर्यटन महोत्सव–२०८३’ तथा ‘लगानी सम्मेलन’ आयोजना गरिने भएको छ ।

गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवको तयारी, उद्देश्य र लगानीका सम्भावनाबारे जानकारी गराइएको हो । महोत्सव अवधिभर करिब १५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब १ करोड रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ ।

१९ पर्यटकीय गन्तव्य र १०८ लहरेमाने मुख्य आकर्षण
गाउँपालिकाले भ्रमण वर्षलाई सफल बनाउन पालिकाभित्रका १९ वटा प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरी एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना अघि सारेको छ । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत सुनापति डाँडा, ऐतिहासिक १०८ लहरेमाने र महादेवको विशाल मूर्तिलाई महोत्सवको मुख्य आकर्षणका रूपमा प्रचारप्रसार गरिनेछ ।

यसैगरी सेतो मछिन्द्रनाथको मूर्ति, लामाटोलको पद्मसम्भव मूर्ति तथा गुम्बा, फलाम पोखरी, धर्मद्वार, पानीघाट युद्ध पार्क, डम्फुडाँडा, चिया बगान र लखपति छ्योर्तेन डाँडालगायतका सम्पदाको प्रवर्द्धनमा जोड दिइने गाउँपालिकाले जनाएको छ । महोत्सवसँगै बालमैत्री स्थानीय शासन घोषणासम्बन्धी कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाइनेछ ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा लगानीको आह्वान
गाउँपालिकाको आन्तरिक स्रोत र सीमित बजेटले मात्र विशाल पर्यटकीय पूर्वाधार निर्माण सम्भव नहुने निष्कर्षसहित गाउँपालिकाले लगानी सम्मेलनमार्फत निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गरेको छ ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलेकान्छा तामाङले पर्यटन विकास भनेको पर्यटक भित्र्याउनु मात्र नभई उनीहरूको बसाइ अवधि लम्ब्याउनु र स्थानीयको आम्दानी बढाउनु रहेको बताए ।

“परम्परागत सरकारी बजेटमा मात्र निर्भर रहेर अपेक्षित समृद्धि हासिल हुँदैन,” अध्यक्ष तामाङले भने, “अब निजी क्षेत्र, सहकारी, बैंक तथा वित्तीय संस्थाको पुँजी, प्रविधि र व्यवस्थापकीय सीपलाई विकास प्रक्रियामा जोड्न चाहन्छौँ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत होटल, रिसोर्ट, होमस्टे, पदमार्ग र पर्यटन पूर्वाधारमा लगानी भित्र्याउन गाउँपालिकाले पूर्ण नीतिगत सहजीकरण गर्नेछ ।”

उनका अनुसार सुनापति डाँडाको एकीकृत विकास परियोजनाबाट प्रारम्भिक चरणमै प्रत्यक्ष १५ देखि २० जना र अप्रत्यक्ष रूपमा २५ देखि ४० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

कृषि, रैथाने उत्पादन र तामाङ संस्कृतिको संगम
महोत्सवमा स्थानीय कृषक, महिला समूह, सहकारी र घरेलु उद्यमीले उत्पादन गरेका आलु, फलफूल, तरकारी, जडीबुटी, हस्तकला तथा मौलिक परिकारहरूको विशेष प्रदर्शनी र बिक्री कक्ष राखिनेछ । स्थानीय उत्पादनलाई काठमाडौँलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

तीन दिनसम्म चल्ने महोत्सवमा चर्चित गायक विश्व दोङलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । साथै तामाङ समुदायको मौलिक संस्कृति झल्किने डम्फु र टुङ्नाको प्रस्तुति, कला, साहित्य तथा खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिनेछ ।

वातावरणमैत्री पर्यटन र जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्दै ‘सुनापति जाऔँ, प्रकृति र संस्कृति चिनौँ’ भन्ने मूल नाराका साथ महोत्सवमा सहभागी हुन गाउँपालिकाले देशविदेशमा रहेका नेपाली तथा सरोकारवाला सबैलाई निमन्त्रणा गरेको छ ।

प्रतिकृया दिनुहोस्