×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालका अनुसार, आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रमदेखि निरन्तर संसद्मा प्रधानमन्त्रीको खोजी भइराखेको स्मरण गरे । आफूहरूले प्रधानमन्त्री खोज्दा उपस्थित नभइरहेका बेला सभामुखबाट समेत प्रत्येक महिना संसद्मा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेर प्रश्न उठाए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा यस सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिन बिहीबार नै भएको स्मरण गरे । सात दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेकिरहेका बेला प्रधानमन्त्रीले अगाडि बढाउने कार्यसूची पेस गर्न सभामा अर्को मन्त्रीलाई पठाएको भनेर विपक्षीले प्रश्न उठाएका हुन् ।

तर, सभामुखले सत्तापक्षबाटै विपक्षीको प्रश्नको जवाफ दिन समय दिए । रास्वपाका सांसद अशोक कुमार चौधरीले प्रधानमन्त्रीलाई अर्को मन्त्रीलाई कार्यसूची अगाडि बढाउने अधिकार रहेको स्मरण गराए ।

त्यसपछि सभामा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ हुन थाल्यो । सभामुखले १५ मिनेटका लागि सभा नै स्थगित गरे ।

प्रतिकृया दिनुहोस्