×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कृषि

गोलभेँडाको मूल्यमा २ सय ५३ प्रतिशत वृद्धि

गोलभेँडाको मूल्यमा २ सय ५३ प्रतिशत वृद्धि

काठमाडौं । मुलुकभरि दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक उतारचढाव आउँदा उपभोक्ता मारमा परेका छन् ।

बजारको समग्र अवस्था विश्लेषण गर्दा सबैभन्दा बढी मूल्यवृद्धि तरकारी र फलफूलमा देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्यांक आधार मान्दै विभागले तयार पारेको प्रतिवेदन अनुसार जेठमा प्रमुख पाँच कृषिउपजको मूल्यमा उछाल आएको छ ।

यस अवधिमा सबैभन्दा बढी सानो लोकल गोलभेँडाको मूल्यमा २ सय ५३ प्रतिशत वृद्धि भएको छ । न्यूनतम १७ रुपैयाँ किलो रहेको यो गोलभेडाको मूल्य बढेर ६० रुपैयाँसम्म पुगेको तथ्यांकले देखाउँछ ।

यसैगरी भान्सामा दैनिक प्रयोग हुने हरियो बुलेट खुर्सानीको मूल्य पनि न्यूनतम ३४ रुपैयाँबाट ९५ रुपैयाँसम्म पुग्दै १७९।४ प्रतिशतले महँगिएको थियो ।

फलफूलतर्फ दसहरी आँपको मूल्यमा १ सय ६० प्रतिशतको उच्च वृद्धि देखिएको छ, जसको मूल्य न्यूनतम १ सयबाट २ सय ६० रुपैयाँसम्म पुगेको छ । यसका साथै सानो टनेलको गोलभेँडामा १५८.६ प्रतिशत र पिँडालुको मूल्यमा १ सय ५७ प्रतिशत वृद्धि भएको छ ।

तरकारी तथा फलफूल मूल्यमा यसरी शतप्रतिशतभन्दा माथिको उतारचढाव आउनुमा मुख्यतया उत्पादन, वितरण र ढुवानी लागतमा आएको वृद्धिमात्र नभई बजारमा बिचौलियाको दबदबा र बजारका धेरै तह प्रमुख कारण रहेको सरकारी निष्कर्ष छ ।

तरकारीमात्र नभई खाद्यान्नको अवस्था पनि निराशाजनक नै छ । वैशाखको तुलनामा जेठमा अधिकांश प्रकारका चामलको मूल्यमा सामान्यदेखि मध्यमस्तरको वृद्धि भएको छ ।

कच्चापदार्थको मूल्यमा भएको वृद्धि र पेट्रोलियम पदार्थको मूल्य घट्न नसकेका कारण चामलको बजार भाउ उकालो लागेको हो । यसैगरी दालजन्य गेडागुडीको मूल्यमा पनि देशभरि सामान्य उतारचढाव देखिएको छ ।

उत्पादन र आयात लागतसँगै ढुवानी भाडा बढेका कारण रहर, मास, मुसुरो लगायत दालको औसत बजार मूल्य महँगिएको छ । खुद्रा तथा किराना व्यवसायी संघको तथ्यांक हेर्दा चामल, जिरा पाउडर, धनियाँ पाउडर र चिनीजस्ता वस्तुको मूल्य बढेको छ भने उपभोक्तालाई थोरै राहत दिँदै तेल, आटा, मैदा र मकैको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

माछामासु र अन्डाको बजार पनि मूल्यवृद्धिको चपेटाबाट अछुतो छैन । मासुको औसत मूल्य सामान्यतया स्थिर देखिए पनि अन्डाको मूल्य भने बढेको छ ।

तर, बजारमा बर्डफ्लुको त्रास फैलिएका कारण ब्रोइलर कुखुराको मासु मूल्यमा भने जेठमा सामान्य गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । खसी र स्थानीय माछाको मूल्यमा भने सामान्य उतारचढाव मात्र देखिएको छ ।

यसरी समग्र बजार महँगिनुका पछाडि आन्तरिक बजार व्यवस्थापन कमजोरीसँगै वाह्य र भूराजनीतिक तत्त्वले पनि ठूलो भूमिका खेलेको विभागको विश्लेषण छ ।

विशेषगरी मध्यपूर्वमा इरान, अमेरिका र इजरायलबीच बढेको भूराजनीतिक तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र आपूर्ति शृङ्खलामा परेको अवरोधले नेपालको अर्थतन्त्रमा सोझै प्रहार गरेको छ ।

नेपालमा आयात हुने वस्तुको ढुवानीमा प्रयोग हुने पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, हवाई इन्धन) को मूल्य उच्च बिन्दुमा नै स्थिर रहँदा त्यसको सिधा असर उपभोग्य वस्तुको बजार भाउमा परेको हो ।

यस अतिरिक्त अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जानुले पनि महँगीलाई मलजल गरेको छ । जेठभरि अमेरिकी डलरको खरिद–बिक्री दरमा निरन्तर १.०७ प्रतिशतको उतारचढाव देखियो, जसले गर्दा विदेशबाट आयात हुने सम्पूर्ण कच्चापदार्थ र तयारी वस्तुको लागत बढ्न गयो ।

साथै, भारत र चीनजस्ता छिमेकी राष्ट्रले अख्तियार गरेका भन्सार तथा निकासी पैठारी नीतिहरूमा भएको परिवर्तनले पनि नेपालको बजार मूल्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वृद्धि गराएको छ ।

सरकारले बजेट मार्फत लिएका राजस्व र कर प्रणालीका नीतिहरूले समेत व्यापारीहरूमा अन्योल सिर्जना गर्दा बजारमा कृत्रिम मूल्यवृद्धि र कालोबजारीले प्रश्रय पाएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्