काठमाडौं । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान र केही अस्पतालमा निमित्त जिम्मेवारी तोकेको छ । स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका अनुसार निमित्त नियुक्ति अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था लागि मात्रै हो ।
पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा.डा. विनम्र विष्टलाई निमित्त जिम्मेवारी दिएको छ ।
त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) सह-प्रा.डा. इन्द्र लिम्बू, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. उमेश नेपाल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह-प्रा.डा. रविन्द्रभक्त तिमलालाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापति निमित्तको जिम्मेवारी दिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको छ । छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ ।
खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको मन्त्रालयले जनाएको छ । हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण यी स्वास्थ्य निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए ।
नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस् भन्नका लागि मात्र मन्त्रालयले तत्काललाई ‘निमित्त’ प्रमुखहरूको नियुक्ति गरेको हो ।