काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् ।
फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिएका हुन् । ट्रम्पले भनेका थिए, ‘यदि ओमानले अवरोध गर्यो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौँ ।’
ट्रम्पको यस्तो अभिव्यक्ति आउनुभन्दा केही घण्टाअघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य)बाट पानीजहाज आवतजावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दुवै देशबीच जहाज पार गर्ने मार्गको नक्साबारे समझदारी बनेको बताएका थिए । उनका अनुसार संयुक्त वक्तव्य जारी गर्नुअघि बाँकी विवरणलाई अन्तिम रूप दिइनेछ ।
ओमानले यसअघि इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आएको थियो । स्ट्रेट अफ होर्मुजको दक्षिणी किनारमा रहेको ओमानले आफूलाई यस द्वन्द्वमा तटस्थ राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि इरानबाट भएका केही आक्रमणको असर ओमानले पनि भोगेको छ ।
अमेरिकाको सहयोगी राष्ट्र ओमान र अमेरिकाले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन् । विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुनस् खोल्ने विषय वार्ताको मुख्य एजेन्डा बनेको छ । अमेरिका–इरान युद्धका कारण करिब छ महिनादेखि यो जलमार्ग लगभग बन्द अवस्थामा छ ।
अमेरिका र इरानबीचको समझदारी संकटमा
अमेरिका र इरानबीच १८ जुनमा भएको ६० दिने समझदारीपत्र ९एमओयू० युद्धविराम गराउने र स्ट्रेट अफ होर्मुजलाई कम्तीमा आंशिक रूपमा खोल्ने उद्देश्यले गरिएको थियो । तर त्यसको केही समयमै दुवै पक्षले पुनस् आक्रमण सुरु गरेपछि समझदारी कार्यान्वयनमा आउन सकेन ।
सोमबार अमेरिकी राष्ट्रपति कार्यालय ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई बीबीसीका पत्रकारले एमओयूको म्याद थप्ने विषयमा प्रश्न गरेका थिए । ट्रम्पले सीधा ‘होइन’ भन्ने जवाफ दिएका थिए ।
जुलाई ८ मा ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गर्दै इरानी नेतृत्वको समेत कडा आलोचना गरेका थिए ।
एमओयूको म्याद सकिन लाग्दा ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा इरानले कुनै पनि अवस्थामा आणविक हतियार हासिल गर्न नपाउनु आफ्नो प्रशासनको ‘प्रमुख लक्ष्य’ रहेको बताएका छन् ।
होर्मुज जलडमरू किन महत्वपूर्ण छ ?
इरानले फेब्रुअरीमा अमेरिका र इजरायलबाट आक्रमण भएपछि स्ट्रेट अफ होर्मुजमा पानीजहाजको आवतजावतमा व्यापक अवरोध सिर्जना गरेको छ । विश्वभरको करिब एक–पाँचौं तेल तथा तरलीकृत प्राकृतिक ग्यास ९एलएनजी० यही जलमार्ग हुँदै ओसारपसार हुने गर्छ ।
त्यसैले जलडमरूमध्य लामो समय बन्द रहँदा विश्वव्यापी ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर पर्ने गरेको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले यसअघि जलडमरूमध्य पूर्ण रूपमा खोल्न अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए । रोयटर्सका अनुसार इरानले जलडमरूमध्य हुँदै जाने जहाजका कार्गोको मूल्यको ५ देखि ७ प्रतिशतसम्म शुल्क लिन खोजिरहेको छ ।
आईआरजीसीसँग प्रत्यक्ष सम्पर्क रहेको ट्रम्पको दाबी
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानको शक्तिशाली सैन्य तथा राजनीतिक संगठन इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष ‘ब्याकच्यानल’ रहेको दाबी पनि गरेका छन् । तर आईआरजीसीका प्रवक्ताले ट्रम्पको दाबी अस्वीकार गरेका छन् ।
इरानी अर्धसरकारी समाचार संस्था तस्निमसँग कुरा गर्दै आईआरजीसीका प्रवक्ताले अमेरिकी अधिकारी र आईआरजीसीबीच कुनै वार्ता नभएको दाबी गरेका छन् । उनले ट्रम्पको दाबीलाई युद्धमा पराजय र निराशाका कारण उत्पन्न ‘कल्पना’ भनेका छन् ।
यसैबीच, ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफूलाई कुनै हतार नभएको बताएका छन् । उनले इरानीहरूलाई ‘राम्रो पोकर खेलाडी’ भन्दै उनीहरू कमजोर बन्दै गएको टिप्पणी गरेका छन् ।
स्ट्रेट अफ होर्मुज खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच अलग–अलग प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो धम्कीले क्षेत्रीय कूटनीतिमा थप तनाव उत्पन्न गर्नसक्ने चिन्ता छ ।