काठमाडौँ । नेपाल बिद्युत् प्राधिकरणले बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।
थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने,पाइप फुटेपछि मन्त्रीज्यूको निर्देशन पश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परीक्षणको कार्य भइरहेकाले परीक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ ।
बिद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री प्रदीप यादवले बताए ।
बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विशेष अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।