काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, मेसेञ्जर जस्ता सामाजिक सञ्जालको मातृ कम्पनी मेटाले एउटा यस्तो अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको पेटेन्ट प्राप्त गरेको छ, जसले प्रयोगकर्ताको मृत्युपछि पनि उनीहरूको सामाजिक सञ्जाल प्रोफाइललाई सक्रिय राख्न सक्नेछ । यो प्रविधिले मानिसको भौतिक अनुपस्थितिमा पनि उनीहरूको तर्फबाट पोस्ट गर्ने, मेसेजको जवाफ दिने र अन्तरक्रिया गर्ने क्षमता राख्छ ।
बिजेनेस इन्साइडरमा प्रकाशित एक रिपोर्ट अनुसार मेटाले डिसेम्बर २०२५ को अन्त्यमा यो पेटेन्ट प्राप्त गरेको हो । यो प्रविधिले लार्ज ल्याङ्ग्वेज मोडल (LLM) को प्रयोग गरी प्रयोगकर्ताको व्यवहारलाई सिमुलेट वा नक्कल गर्छ ।
मेटाको पेटेन्ट दस्ताबेजका अनुसार यो एआईलाई प्रयोगकर्ताका पुराना गतिविधिहरू जस्तै– कमेन्ट, लाइक र पहिलेका पोस्टहरूमा आधारित भएर तालिम दिइन्छ । यसरी एआईले प्रयोगकर्ताको सोच्ने र प्रतिक्रिया दिने शैली सिकेर उसको एउटा 'डिजिटल क्लोन' (डिजिटल जुम्ल्याहा) तयार पार्छ ।
यति मात्र होइन यो प्रविधिले अन्य प्रयोगकर्ताको पोस्टमा प्रतिक्रिया दिने, डीएम (मेसेज) मा कुराकानी गर्ने र सम्भव भएमा भिडिओ वा अडियो कलमा समेत प्रयोगकर्ता जस्तै गरी कुरा गर्न सक्ने क्षमता राख्ने पेटेन्टमा उल्लेख छ ।
मेटाका सीटीओ एन्ड्रयु बोसवर्थको नामबाट दर्ता गरिएको यस पेटेन्टमा यस्तो प्रविधिको आवश्यकताको कारण पनि खुलाइएको छ । मेटाको दस्ताबेज भन्छ, "यदि कुनै प्रयोगकर्ता सधैँका लागि छोडेर जान्छ भने त्यसले उनका फलोअरहरूको अनुभवमा गम्भीर र स्थायी असर पार्छ । उनीहरूले आफ्नो प्रिय व्यक्तिलाई मिस गर्छन् ।"
यही रिक्तता भर्नका लागि मेटाले डिजिटल क्लोनको अवधारणा ल्याएको हो । विशेष गरी सामाजिक सञ्जालबाट जीविकोपार्जन गर्ने इन्फ्लुएन्सर र सिर्जनाकर्ताहरूका लागि यो उपयोगी हुन सक्ने कम्पनीको तर्क छ ।
यद्यपि, मेटाका प्रवक्ताले बिजेनेस इन्साइडरसँग कुरा गर्दै भनेका छन्, "हामीले अवधारणा स्पष्ट पार्नका लागि मात्र पेटेन्ट दर्ता गरेका हौँ, हाल यस प्रविधिलाई अगाडि बढाउने वा कार्यान्वयन गर्ने हाम्रो कुनै योजना छैन ।"
यो प्रविधिलाई ग्रिफ टेक (शोक प्रविधि) वा डेथ बोट (Death Bot) भनिएको छ । यसअघि माइक्रोसफ्टले पनि सन् २०२१ मा मृतक व्यक्तिको नक्कल गर्ने च्याटबटको पेटेन्ट दर्ता गरेको थियो । मार्क जुकरबर्गले सन् २०२३ को एउटा अन्तर्वार्तामा मृतक प्रियजनका भर्चुअल अवतारहरूले मानिसलाई शोकको समयमा पुराना सम्झनाहरू ताजा बनाउन मद्दत गर्न सक्ने बताएका थिए ।
तर, विशेषज्ञहरूले यसमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । यूकेस्थित बर्मिङ्घम विश्वविद्यालयकी प्रोफेसर एडिना हार्बिन्जाले भनेकी छिन्, "यसले कानुनी मात्र नभई गम्भीर सामाजिक, नैतिक र गहिरो दार्शनिक प्रश्नहरू खडा गर्छ ।" उनका अनुसार यो प्रविधि कम्पनीका लागि थप डेटा र इन्गेजमेन्ट प्राप्त गर्ने माध्यम मात्र हुन सक्छ ।
त्यसैगरी भर्जिनिया विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर जोसेफ डेभिसको प्रतिक्रिया छ, "मृतकलाई मृतक नै रहन दिनुहोस् ।" उनको विचारमा मृत्युलाई स्वीकार गर्नु र शोक मनाउनु मानवीय प्रक्रिया हो, तर एआईले मृतकलाई फिर्ता ल्याएको जस्तो भ्रम छर्दा मानिसहरूमा मानसिक अन्योल बढ्न सक्छ ।
मेटाको यो कदमले प्रविधिको भविष्य र मानवीय संवेदनामाथि ठुलो बहस सिर्जना गरिदिएको छ । के हामी साँच्चै आफ्नो मृत्युपछि पनि सामाजिक सञ्जालमा जीवित रहन चाहन्छौँ ? यो प्रश्न अब केवल कल्पनामा मात्र सीमित रहेन ।