×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तीनकुनेमा हवाई फायर, हिंसात्मक बन्यो राजावादीको प्रदर्शन

तीनकुनेमा हवाई फायर, हिंसात्मक बन्यो राजावादीको प्रदर्शन

काठमाडौं । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।

त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको छ ।राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । त्यहाँ नेताहरु देखिएका छैनन् ।

राजावादी समूहले तिनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।

राजावादी समूहले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले पनि सुरुमा लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्यास प्रयास गर्यो । त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि रबरको गोलीका साथै रियल गोली समेत प्रहार भएको छ । 
 
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको छ ।

यस्तै झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ पनि केही घाइते भएको बताइएको छ । झपडका क्रममा घाइते भएकामध्ये ४ जना सुरक्षाकर्मीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ । 

यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् । यसैगरी घरहरुमा तोडफोड भएको छ भने एक घरमा आगलागी भएको छ । आगलागी प्रदर्शनकारीले गरेका हुन् या के भन्नेबारे खुल्न सकेको छैन । 

नवराज सुवेदी नेतृत्वको राजावादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले संयुक्त रुपमा राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो । प्रदर्शन शान्तिपूर्ण हुने भनिएपनि हिंसात्मक बन्न पुगेको हो । घटना हिंसात्मक बनेसँगै प्रदर्शनकारी तितरबितर बनेका छन् भने तिनकुनेमै शीर्ष नेताहरुले सम्बोधन गर्न तय भएको कार्यक्रम पनि बिथोलिएको छ । अहिले पनि तिनकुने क्षेत्रमा तनाव जारी नै छ ।

प्रतिकृया दिनुहोस्