×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । 

सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो । सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए । 

प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए । भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ । त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएलगतै भारतका प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो दिएका थिए । पछि नेपालस्थित भारतीय दूतावासमार्फत पठाएको बधाई सन्देशमा पनि भारत भ्रमणको निम्तो दिएका थिए । सो निम्तोलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका थिए । 

भ्रमणको आन्तरिक तयारी पनि दुवैतिर सुरु भइसकेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेनले नभेट्ने भनेपछि उनी आएनन् । 

प्रधानमन्त्री बालेन एक वर्ष कुनै पनि देशको भ्रमण नगर्ने भनी उनकै पार्टीका पदाधिकारीहरूले स्पष्ट गरेपछि हाल उनको भारत भ्रमण नहुने देखिएको छ । यस अवस्थामा प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने कि नआउने त्यो पनि सोचनीय विषय रहेको जानकारहरू बताउँछन् । 

नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो विदेश भ्रमण भारतको हुने परम्परा जस्तै थियो । तर बिचमा केही प्रधानमन्त्रीहरूले त्यो परम्परालाई तोडेका थिए । 

भारतका प्रधानमन्त्री मोदीले हालसम्म नेपालको चार पटक भ्रमण गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा सन् २०१४ मा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले सांसदलाई पनि सम्बोधन गरेका थिए । 

त्यसपछि उनी सन् २०१४ मै सार्क सम्मेलनमा भाग लिन नेपाल आएका थिए । त्यसबेला पनि उनी उच्च स्तरीय भेटघाट गरेका थिए । त्यसपछि सन् २०१८ मा जनकपुरको भ्रमणमा नेपाल आएका थिए ।  चौथो भ्रमण उनले सन् २०२२ मा लुम्बिनीको एक दिन भ्रमणका लागि आएका थिए । त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्केका थिए । 

प्रतिकृया दिनुहोस्