×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दलको नेता चयन गर्दै कांग्रेस

दलको नेता चयन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने भएको छ ।

कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन भएको जानकारी दिएका छन् । सहमतिको प्रयास भइरहेको भन्दै कांग्रेसले अझैसम्म पनि दलको नेता चयन गर्न सकेको छैन ।

दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउन निर्वाचन तालिका सार्वजनिक गरिए पनि गत शुक्रबार अन्तिम समयमा स्थगित गरिएको थियो । आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले दलको नेताको नाम घोषणा गर्ने भएका छन् ।

कार्यसम्पादन समिति बैठकमा थापाले घोषणा गरेको नामलाई नै संसदीय दलको बैठकबाट पनि अनुमोदन गराउने तयारी कांग्रेसको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

कांग्रेस सहमहामन्त्री एवम् निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ ले कार्यसम्पादन समिति बैठकमा सभापति थापाले घोषणा गर्ने नामलाई प्रक्रिया अघि बढाएर टुंग्याउने जानकारी दिए ।

‘कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ११ बजे बस्छ । बैठकमा सभापतिले संसदीय दलको विधानको धारा ५ अनुसार नेता घोषणा गर्नुहुन्छ,’ उनले भने, ‘१ बजे सांसदहरूसँग दलको कार्यालयमा बैठक गर्छौं । प्रक्रिया अघि बढाएर टुंगो लगाउँछौं ।’

महामन्त्री गुरूराज घिमिरेले पनि सभापति थापाले कार्यसम्पादन समिति बैठकमा दलको नेताको नाम घोषणा गर्ने बताए । ‘सभापतिजीले अहिलेको समय परिस्थिति, देश र पार्टीका सबै आयामहरू बारे चर्चा गर्दै टुंगो लगाउनुहुन्छ,’ उनले भने ।

सभापति थापाले घोषणा गरेको नामलाई निर्वाचन समितिले प्रक्रिया पूरा गरेर टुंग्याउने महामन्त्री घिमिरेको भनाइ छ । ‘निर्वाचन समितिले प्रक्रिया अघि बढाउँछ,’ उनले भने, ‘सहमति हामीले जे गर्छौं, जे भन्छौं त्यसैलाई प्रक्रिया पूरा गरेर टुंग्याउँछौं ।’

प्रतिकृया दिनुहोस्