काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ ।
पोखरा फिर्ता गराउनका लागि जोशीलाई प्रहरीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ लगेको छ । जोशीलाई पोखरा पुर्याएपछि भोलि शनिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।
जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ । यसका लागि चितवनको साहारा चितवन सहकारीमा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।