काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव अवसर पारेर सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष (आउटलेट) सञ्चालनमा ल्याउने भएको छ । आम उपभोक्तासम्म आफ्ना उत्पादनको सहज पहुँच पुर्याउने उद्देश्य सहित कम्पनीले बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको बताएको छ ।
यस नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय छ ।
सर्वसाधारणलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको यस कम्पनीले बिहीबार नै आफ्नो सातौं स्थापना दिवस पनि मनाउँदै छ ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सिंहदरबारभित्र खुल्ने यस कक्षबाट उपभोक्ताले सुपथ मूल्यमा कम्पनीका सम्पूर्ण उत्पादन खरिद गर्न सक्नेछन् ।
यस आउटलेटमा चामल, दाल, खानेतेल, चिनी र नुनजस्ता दैनिक उपभोग्य सामग्री साथै स्थानीय स्तरमा उत्पादित पौष्टिक अन्न (चिनो, कागुनो, फापर र सिमी) समेत बिक्रीका लागि राखिनेछ ।
वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले बिहीबारदेखि नै देशभरि ‘सुपथ मूल्य पसल’ सञ्चालन गर्दै छ । ४४ जिल्लाका १ सय ९३ स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालनमा आउने सूचना अधिकारी मिश्रले जानकारी दिए ।
यी सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ताले प्रतिकिलो र प्रतिलिटरमा ५ रुपैयाँ विशेष छुट प्राप्त गर्नेछन् । यसले उपभोक्तालाई दैनिक जीवनमा केही राहत मिल्ने कम्पनीको विश्वास छ ।