विराटनगर । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ । आइतबारको झडपपछि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति(सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो ।
सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न सहमति जनाएका हुन् ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सामाजिक सदभाव र शान्ति सुरक्षा कायम गर्नका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने निर्णय भएको छ । निर्णयपछि जनप्रतिनिधि र सामाजिक र धार्मिक अगुवाहरुले सामाजिक सदभाव कायम गर्नका लागि पहल सुरु गरिसकेको बताए ।
आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।