काठमाडौँ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पल आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरका बारेमा भ्रमपूर्ण जानकारी दिएको आरोपमा २५ करोड अमेरिकी डलर (करिब ३८ अर्ब ४ करोड रुपैयाँ) तिर्न सहमत भएको छ । एप्पल इन्टेलिजेन्स र परिष्कृत सिरीका फिचरका बारेमा ग्राहकलाई झुक्याएको भन्दै अमेरिकामा दायर गरिएको क्लास-एक्सन मुद्दा सुल्झाउन कम्पनी यो ठुलो रकम तिर्न तयार भएको हो ।
अदालतमा दर्ता गरिएको प्रस्तावित सम्झौता अनुसार अमेरिकामा १० जुन २०२४ देखि २९ मार्च २०२५ को बीचमा आईफोन १५ र १६ सिरिज खरिद गर्ने ग्राहकहरूले क्षतिपूर्तिका लागि दाबी गर्न सक्नेछन् । जसमा आईफोन १६ सिरिजका सबै मोडेलहरू आईफोन १६, १६ प्लस, १६ प्रो, १६ प्रो म्याक्स र १६ ई रहेका छन् । त्यस्तै आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स खरिद गर्ने ग्राहकले समेत रकम दाबी गर्न पाउनेछन् ।
दाबी गर्नेहरूको कूल सङ्ख्याका आधारमा प्रयोगकर्ताले प्रति डिभाइस न्यूनतम २५ डलर (करिब ३८०० रुपयाँ) देखि अधिकतम ९५ डलर (करिब १४,४५५ रुपैयाँ) सम्म फिर्ता पाउन सक्ने बताइएको छ । यो सम्झौताले अमेरिकाका करिब ३ करोड ६० लाख डिभाइसहरूलाई समेट्ने अनुमान गरिएको छ ।
के थियो मुख्य विवाद ?
एप्पलले सन् २०२४ को जुनमा भएको डेभलपर्स कन्फरेन्समा एप्पल इन्टेलिजेन्स र नयाँ सिरीको घोषणा गरेको थियो । सेप्टेम्बरमा आईफोन १६ सार्वजनिक गर्दा कम्पनीले यसलाई एप्पल इन्टेलिजेन्सका लागि बनेको भन्दै आक्रामक विज्ञापन गरेको थियो ।
तर वास्तविकतामा ती फिचरहरू फोन सार्वजनिक हुँदा उपलब्ध थिएनन् ।वादीहरूले एप्पलले ती सुविधाहरू 'अहिले नै उपलब्ध' भएको भन्दै झूटो प्रचार गरेर आईफोनको बिक्री बढाउन खोजेको आरोप लगाएका थिए ।
क्लार्कसन ल फर्मका अनुसार एप्पलले बजारमा यस्ता सुविधाहरूको प्रचार गर्यो, जुन त्यो समयमा अस्तित्वमै थिएनन् र पूर्ण रूपमा उपलब्ध हुन अझै दुई वर्ष वा सोभन्दा बढी समय लाग्न सक्छ । मोर्गन स्टेनलीको एक सर्वेक्षण अनुसार ग्राहकहरूले आईफोन १६ किन्नुको मुख्य कारण नै 'इन्हान्स्ड सिरी' थियो, जुन लामो समयसम्म उपलब्ध भएन ।
यद्यपि एप्पलले कानुनी रूपमा आफ्नो कुनै गल्ती स्वीकार गरेको छैन । कम्पनीकी प्रवक्ता मार्नी गोल्डवर्गले प्रयोगकर्ताहरूका लागि नवीन उत्पादन र सेवाहरू प्रदान गर्ने मुख्य काममा केन्द्रित रहनका लागि यो कानुनी झमेलालाई सुल्झाउन सहमत भएको बताएकी छिन् ।
एप्पलले हालसम्म इमेज प्लेग्राउन्ड, जेनमोजी, राइटिङ टुल्स, भिजुअल इन्टेलिजेन्स र सिरीमा च्याटजीपीटीको एकीकरण जस्ता एआई फिचरहरू क्रमिक रूपमा उपलब्ध गराइरहेको बताएको छ । साथै कम्पनीले सिरीलाई थप शक्तिशाली बनाउन गुगलको जेमनाई एआई मोडेल प्रयोग गर्ने घोषणा समेत गरिसकेको छ । जुन सन् २०२६ को अन्त्यसम्ममा पूर्ण रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
यो २५ करोड डलरको सम्झौतालाई क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतकी न्यायाधीश नोएल वाइजले आगामी १७ जुनमा हुने सुनुवाइमार्फत अन्तिम स्वीकृति दिनुपर्नेछ । एआईको दौडमा आफ्ना एन्ड्रोइड प्रतिस्पर्धीहरू भन्दा पछि परिरहेको एप्पलका लागि यो मुद्दा र जरिबानालाई एउटा ठुलो धक्काको रूपमा हेरिएको छ ।