×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न एमालेले चैत ११ गते एकैदिन देशैभर कार्यक्रम गर्ने

गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न एमालेले चैत ११ गते एकैदिन देशैभर कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो । अभियान अन्तर्गत, एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभर सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।

सोही क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गरिने बताइएको छ । सोही दिन सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने एमालेले बताएको छ ।

तयस्तै, चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने बताइएको छ । धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा प्रदर्शन र जनसभा हुने एमालेले बताएको छ ।

प्रदेश तहमा हुने विशेष सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने र जिल्ला तहको सभाका लागि आवश्यक परेका ठाउँमा त्यस्तो व्यवस्था गरिने एमालेले जानकारी गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई उक्त कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन पनि दिएका छन् ।

महासचिव पोखरेलले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए ।

यस्ता छन् कार्यक्रमहरू?
–प्रतिगामी कुप्रयासका विरूद्धमा पार्टीको वडाकेन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने ।
–संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।
–चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने । जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल र्‍याली गर्ने ।
–चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने ।
–काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने ।

प्रतिकृया दिनुहोस्