×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दिल्लीका चार होटलबाट ६३ नेपाली महिलाको उद्धार

दिल्लीका चार होटलबाट ६३ नेपाली महिलाको उद्धार

काठमाडौं । घरेलु कामदारको रुपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पुर्‍याइएका ४० नेपाली महिलालाई काठमाडौं फिर्ता ल्याइएको छ । रुपन्देहीको सुनौली नाकाबाट दिल्ली पुर्‍याइएका ४० नेपाली महिलालाई उद्दार गरेर शुक्रबार काठमाडौं फिर्ता ल्याइएको हो ।

दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय प्रहरी र किन इन्डियाको संयुक्त पहलमा ४० नेपाली महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उद्धार गरेर सुनौलीहुँदै स्थलमार्गबाट दिउँसो काठमाडौं ल्याइएका उनीहरुलाई अहिले शक्ति समूहलगायतका संस्थामा राखिएको छ । सिनामंगल र गोकर्णस्थित सेल्टर हाउसमा उद्दार गरेर ल्याइएका महिलाहरूलाई राखिएको छ ।

बुधबार राति दूतावास र भारतीय प्रहरी समेतको सहयोगमा दिल्लीका चार वटा होटलबाट ६३ महिलाको रेस्क्यु गरिएको थियो । ती मध्ये एक महिलाको युरोपको भिसा लागेको समेत पाइएको थियो । बाँकी २२ महिला भने रोमानियालगायत युरोपका देशहरु जाने तयारीमा थिए ।

उनीहरू कागजी प्रक्रिया र भिसाका लागि भारत पुगेको बताइएको छ । उनीहरूलाई युरोप पठाउने मेनपावर कम्पनीका मान्छेले समेत दूतावाससँग समन्वय गरेर आफूहरू कानुनी रुपमा युरोप पठाउन लागेको बताएका थिए ।

त्यसपछि मेनपावरका प्रतिनिधि समेत दिल्ली पुगेर उनीहरूको जिम्मा लिएपछि २२ जनालाई भने उनीहरूको जिम्मा लगाइएको किन इन्डियाका निर्देशक नवीन जोशी बताउँछन् ।

‘उहाँहरूले दूतावासलाई फर्मल चिठी नै लेख्नु भएछ । त्यसपछि मेनपावरबाट प्रतिनिधि समेत पठाएपछि २३ जनालाई उनीहरुको जिम्मा लगाइयो । बाँकीलाई भने आज काठमाडौं ल्याएका छौं’ उनले भने ।

उद्दार गरेर काठमाडौं फिर्ता ल्याइएका ४० महिलाहरू भने कुवेत, साउदी, ओमान, दुबईलगायतका देश जाने तयारीमा थिए । ती देशहरूमा घरेलु कामदारको रुपमा महिला जान पाउँदैनन् ।

नेपालको विमानस्थल प्रयोग गरेर जाँदा अध्यागमनबाटै फिर्ता हुनसक्ने भयका कारण उनीहरूलाई भारत हुँदै तेस्रो मुलुक लैजान लागिएको बताइएको छ ।

उद्धार गरेर नेपाल ल्याइएको भनिएका महिलाका बारेमा भने प्रारम्भिकु रुपमा बुझ्ने काम सुरु भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता तथा एसपी नरेन्द्र कुँवरले बताए ।

प्रतिकृया दिनुहोस्