×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अरनिको राजमार्ग अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध

अरनिको राजमार्ग अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका क्षेत्रमा अरनिको राजमार्ग अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत भोटेकाशी गाउँपालिका २ कोदारीमा गत असार १ गते देखि तथा भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङ र वडा नं ३ लार्चामा असार ३ गतेदेखि राजमार्ग अवरुद्ध छ।

अवरुद्ध सडक खुलाउने प्रयास भए पनि आजसम्म कुनै प्रगति हुन नसकेको रहेको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए । राईका अनुसार भोटेकाशी गाउँपालिका २ कोदारीमा र कोप्लाङमा सडक भासिएको छ भने लर्चामा ह्युमपाइप बगाएको छ।

कोप्लाङमा राजमार्गको  ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल नै भासिएर भोटेकोशीमा पुगेको छ । लार्चामा खोलाको बहाव बढेकोले उक्त स्थानमा आवागमनमा समस्या रहेको छ ।

लार्चाको बन्दै गरेको बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी भएको छ । त्यसको लागि पुलको केहि भागमा माटो भर्न बाँकी रहेकोले शुक्रवार सम्ममा माटो भरेर संचालनमा ल्याउने तयारी भएको छ । गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।

सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण भन्सार नाकातर्फको आवागमन पूर्णरुपमा ठप्प भएको छ ।

मंगलबार राति परेको वर्षाका कारण भोटेकोसी गाउँपालिका–२ अन्तर्गत लिपिङ बजार क्षेत्रमा क्षति पुर्‍याएको छ । पहाडबाट खसेको ढुंगाले स्थानीय तीन घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कोदारीले जनाएको छ ।

प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका-२ लिपिङ बजार बस्ने पदम श्रेष्ठको चार वटा सटर भएको दुई तले पक्की घरमा क्षति पुर्‍याएको छ ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिका-३ बस्ने ३९ वर्षीय इन्द्रकुमार श्रेष्ठले भाडामा मोवाइल पसल चलाएको घरमा नौ लाख बराबरको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

यसैगरी फुलमाया तामाङको दुई तले पक्की घरको दुईवटा सटर मध्ये १ वटा सटर पूर्ण रुपमा क्षति पुगेको छ भने सुनिता श्रेष्ठको एक तले जस्ताबाट बनेको घर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ ।

बुधबार छिमेकी चीनको स्वशासित तिब्बत क्षेत्रमा सात दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि चिनियाँ अधिकारीहरूले नेपाली पक्षलाई सतर्क रहन सन्देश पठाएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार जाङ्मु पोर्टस्थित अध्यागमन कार्यालयमार्फत नेपालतर्फका सुरक्षा निकायहरू सशस्त्र प्रहरी, अध्यागमन कार्यालय कोदारी र भोटेकोशी गाउँपालिकालाई मौखिक रूपमा सूचित गरिएको छ ।

न्यालम क्षेत्रमा वर्षा सुरु भइसकेको सूचना आएको र सिन्धुपालचेकका भोटेकोशीको लिपिङदेखि चौतारा साँगाचोकगढीको सिम्लेसम्मका बस्तीहरूलाई सूचित गरेको उनले बताए ।

त्यस्तै काभ्रे जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सूचना जारी गरी पाँचखाल नगरपालिका तथा भुम्लु, चौरी, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

प्रतिकृया दिनुहोस्