×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित

काठमाडौं । स्पीनरद्वय युवराज खत्री र बसिर अहमदको घातक बलिङ मद्दतमा भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ए ले आसाममाथि फराकिलो अन्तरको जित निकालेको छ । नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो ।

आसामका रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। सिबशंकर रोयले १६ रन बनाए । नेपालका लागि लेगब्रेक बलर युवराज खत्रीले ३.२ ओभरमा १५ रन दिएर ४ विकेट लिए । बाँयाहाते स्पीनर बसिर अहमदले ३ विकेट लिए । कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन बनाउँदै आसामलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए । देव खनाल र पवन सर्राफले समान ३१ रन बनाए । बसिर अहमदले २७ रन तथा विवेक यादव २६ रनमा अविजित रहे ।

आसामका आकाश सेनगुप्ताले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । अभिनव चौधरीले २ तथा आयुष्मान मलाकार र अभिलाष गोगोइले १-१ विकेट लिए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो । नेपाल ए ले आसामसँग कुल ५ खेल खेल्नेछ । यसपछिका ३ खेलहरू एसीए रंगशालामा डेरनाइट रूपमा फ्लडलाइटमा खेलिनेछ ।
 

प्रतिकृया दिनुहोस्