मकवानपुर। बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारमा ६ मन्त्री नियुक्त गरेका हुन् ।
देवकोटाले सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सत्तारुढ गठबन्धन दल एमाले, नेकपा र राप्रपाबाट मुख्यमन्त्री थापाले मन्त्री नियुक्त गरेका हुन् । प्रदेशका ८ मन्त्रालयमध्ये थापाले राप्रपाका ३ र नेकपाका १ मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री थापाले प्रदेश सरकारमा एमालेबाट भरत बहादुर केसी र ज्ञान बहादुर तामाङ मन्त्री बनेका छन् भने नेकपाबाट सरल सहयात्री, राप्रपाबाट गिरबहादुुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त भएका भारत बहादुर केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
राप्रपाका तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्रालय, विष्टलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र प्रजापतिलाई उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ज्ञान बहादुर तामाङ भने विना विभागीय रहेका छन्।
प्रदेशको कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले आफू मातहत नै राखेका छन्।