×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

वैशाखमा मूल्यवृद्धि ५ प्रतिशतमाथि

वैशाखमा मूल्यवृद्धि ५ प्रतिशतमाथि

काठमाडौं । गत वर्ष वैशाखमा २.७७ प्रतिशतमा सीमित वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्ष सोही अवधिमा झन्डै दोब्बर बढेर ५.०४ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ वैशाखको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगी दरमा उल्लेख्य वृद्धि देखिएको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.२६ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश १.५२ र ३.४५ प्रतिशतमात्र थियो ।

यद्यपि, चालु आव १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशतमा खुम्चिएको छ, जुन अघिल्लो वर्ष ४.३९ प्रतिशत थियो ।

फलफूल र यातायातमा उच्च मूल्यवृद्धि

खाद्य समूह अन्तर्गत फलफूल मूल्यमा १८.६० प्रतिशतको उच्च वृद्धि देखिएको छ । यस्तै घिउ तथा तेल १३.९९, तरकारी ५.४० र माछामासुको मूल्य ४.१६ प्रतिशत बढेको छ ।

राहतको कुरा भने दाल तथा गेडागुडीको मूल्य १.६७ र मरमसलाको मूल्य ०.६५ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९० प्रतिशत र यातायात भाडा दर १५.३० प्रतिशत बढेको छ । शिक्षामा ५.५४, मदिराजन्य पेय पदार्थ ४.७७ र कपडा तथा जुत्ताचप्पलमा ४.७३ प्रतिशतको मूल्यवृद्धि भएको छ ।

भौगोलिक आधारमा विश्लेषण गर्दा वैशाखमा तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत मुद्रास्फीति छ । काठमाडौं उपत्यकामा ४.९०, पहाड ४.७३ र हिमालमा ३.७३ प्रतिशत मुद्रास्फीति छ ।

यस्तै ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगी बढी देखिएको छ । ग्रामीण क्षेत्रमा ४.३५ प्रतिशत मूल्यवृद्धि हुँदा सहरी क्षेत्रमा ५.२९ प्रतिशत पुगेको छ ।

प्रदेशगत हेर्दा कोशीमा सबैभन्दा बढी ५.६४ प्रतिशत र बागमतीमा सबैभन्दा कम ४.५५ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यो ३.९५ प्रतिशत थियो । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.४७ प्रतिशत बढेको छ भने मध्यवर्ती वस्तुको मूल्य १५.५९ प्रतिशत वृद्धि भएको छ ।

भारतको तुलनामा नेपालमा महँगी बढी

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति तुलना गर्दा नेपालमा महँगी दर उच्च देखिएको छ । वैशाखमा नेपालको मुद्रास्फीति ५.०४ प्रतिशत रहँदा भारतमा यस्तो मुद्रास्फीति ३.४८ प्रतिशतमात्र रहेको छ ।

प्रतिकृया दिनुहोस्